मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्नो १०० दिने कार्यकालको उपलब्धि सार्वजनिक

प्रदेश वान सम्बाददाता , २०९४९  पटक हेरिएको

विराटनगर, ३२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्नो १०० दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उनले १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।

कार्की २०८१ बैशाख २७ मा संविधानको धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू र हासिल भएका प्रमुख उपलब्धिहरू समेटिएको पुस्तक समेत सार्वजनिक गरे ।

मुख्यमन्त्री कार्कीले ६० बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । उनले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारको मुख्य प्राथमिकतामा राखेको बताए ।

प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सबलीकरण, सेवा प्रवाहको नतिजामुखी कार्यसम्पादन र जवाफदेहिता, सामाजिक सुरक्षा र रोजगारी प्रवर्द्धन, सुशासनको प्रत्याभूति तथा समग्र प्रदेशको हितलाई संस्थागत गर्ने हेतुले प्रदेश सरकारले आफ्ना कामकाजहरू अगाडि बढाइरहेको बताए ।

प्रदेशलाई आम नागरिकहरूले देख्न, छुन र अनुभुति गर्न सक्ने संरचनाका रुपमा विकास गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको बताए । यस अवधिमा प्रदेश सरकारले जनतामा आशाको दियो जगाउने प्रयत्न गरेको दाबी गरे ।

मुख्यमन्त्री कार्कीले गुणस्तरीय सेवा प्रवाह, जन आकाङ्क्षाहरूको सम्बोधन, पूर्वाधार विकासमा तीव्रता, सामाजिक रूपान्तरणका लागि दीर्घकालीन नीति निर्माण र कार्यान्वयन, पर्यटन प्रवर्द्धन र पर्यावरण संरक्षण गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक समृद्धिका साथ प्रदेशको दिगो विकास गर्ने अभियानमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन् ।

प्रकाशित मिति: २०२४-०८-१६ , समय : १५:२७:५३ , ८ महिना अगाडि